काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालमा प्रविधि–आधारित उद्योगलाई प्रोत्साहन गर्न सरकारलाई विशेष नीति ल्याउन सुझाव दिएका छन्। उनले रकेट प्रविधिमा काम गरिरहेको नेपाली कम्पनी ‘म्याच २४’ को प्रयासलाई उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता नवप्रवर्तनकारी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. लोहनीले नेपालका युवा इन्जिनियरहरूले मिश्रित ऊर्जामा आधारित सानो रकेट इन्जिन विकास गर्ने प्रयास गरिरहेको समाचार उत्साहजनक भएको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता प्रयासले नेपाली प्राविधिक जनशक्तिको क्षमता र सम्भावनालाई उजागर गरेको छ।
उनले रकेट इन्जिनियर सुनिल विष्टको भनाइ उद्धृत गर्दै पटक–पटकको परीक्षणपछि परियोजना तयारीको चरणमा पुगेको र सफल भए साना स्याटेलाइट प्रक्षेपणका लागि सस्तो रकेट इन्जिनको व्यावसायीकरण सम्भव हुने बताएका छन्। त्यसका लागि सरकारले आवश्यक कानुन निर्माण र नीतिगत सहयोग गर्नुपर्ने उनको धारणा छ।
नेपालजस्तो देशले पनि प्रविधिमा आधारित उद्योग विकास गर्न सक्ने उल्लेख गर्दै डा. लोहनीले नेपाली प्राविधिक प्रतिभाले अवसर पाए विश्वस्तरीय सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले इलोन मस्कको उदाहरण दिँदै ठूलो सपना देख्न र आफू सक्षम भएको बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
डा. लोहनीले विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई पनि यस्ता नवप्रवर्तनलाई व्यवहारिक रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन्। साथै अर्थमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वलाई ‘फ्रन्टियर टेक्नोलोजी’ केन्द्रित उत्पादन गर्ने उद्योगहरूको पहिचान गरी कम्तीमा १० वर्ष कर छुट दिने नीति ल्याउन सुझाव दिएका छन्।
उनका अनुसार यस्तो नीतिले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै उत्पादनमूलक रोजगारी सिर्जना गर्न र नेपाललाई प्रविधिमैत्री अर्थतन्त्रतर्फ अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्