‘प्रतिशोधको राजनीति अन्त्य गरौँ, म छिट्टै स्वदेश फर्किन्छु’ : देउवा(विज्ञप्तिसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ५, मंगलवार १८:५२


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफू छिट्टै स्वदेश फर्किने बताएका छन्।


स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा आफ्नो अडान सधैं दृढ रहने बताएका हुन्।


आठ दशक लामो राजनीतिक यात्रा र करिब ६ दशकको कांग्रेस राजनीतिलाई स्मरण गर्दै देउवाले फरक विचारप्रति राज्यले देखाउने असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेका छन्। प्रतिपक्षलाई दबाउन भौतिक तथा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्तिको कांग्रेसले सधैं विरोध गर्दै आएको उनको भनाइ छ।


देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राख्दै प्रतिपक्षलाई आतंकित पार्ने औजारका रूपमा प्रयोग गर्न खोजेको आरोप पनि लगाएका छन्। यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उनको चेतावनी छ।


जननायक बीपी कोइरालाको मेलमिलापको नीति नै आजको आवश्यकता भएको उल्लेख गर्दै देउवाले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्यको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले अनुभव र नयाँ पुस्ताको सिर्जनशीलतालाई जोडेर राष्ट्र निर्माणको साझा संकल्प गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


वक्तव्यको अन्त्यमा देउवाले लोकतन्त्र, राष्ट्रियता र समाजवादको रक्षाका लागि आफू दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको विश्वास र साथका बीच छिट्टै स्वदेश फर्किने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *