नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने बाटो खुलेको छ। लामो समयदेखि जग्गा अभावका कारण आफ्नै भवन निर्माण गर्न नसकेको गाउँपालिकाले भवन निर्माणका लागि आवश्यक सरकारी जग्गाको उपयोग प्रमाणपत्र प्राप्त गरेपछि प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
भूमि प्रशासन कार्यालय नुवाकोटले चौघडा सिँचाइ सब–डिभिजनको नाममा रहेको कुल ६ रोपनी ५ आना १ पैसा ३ दाम सरकारी जग्गा लिखु गाउँपालिकालाई प्रशासनिक भवन निर्माणका लागि उपयोग गर्न प्रमाणपत्र प्रदान गरेको हो।
गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले जग्गा प्राप्त भएसँगै अब प्रशासनिक भवन निर्माण निश्चित भएको जानकारी दिनुभयो। जग्गा अभावकै कारण लिखु गाउँपालिका नुवाकोटका स्थानीय तहहरूमध्ये आफ्नै प्रशासनिक भवन निर्माणमा सबैभन्दा पछाडि परेको थियो।
अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकिएको बताउँदै अब विस्तृत परियोजना तयारी गरी निर्माण कार्य सुरु गरिने जानकारी दिनुभयो।
लामो समयदेखि भाडाको भवन तथा अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण भएपछि सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।

नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्