देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ८, शुक्रबार ०७:५३

काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहँदा शुक्रबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल आफ्नो औसत (सरदर) स्थानमै रहेकाले मौसम बदलीसँगै वर्षा हुने अवस्था बनेको हो।


विभागले दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र तराईका अधिकांश स्थानमा आंशिक बदली रहने जनाएको छ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।


यस्तै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानसँगै मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *