नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुर निवासी समाजसेवी नारायणप्रसाद कोइराला र उहाँकी जीवनसंगिनी लक्ष्मी कोइरालाका सुपुत्र नविन काेइरालाले देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई १५ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।
विदुर–५ मा सञ्चालित प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकहरूको सेवाका लागि निर्माण हुन लागेको हाई केयर युनिटका लागि आवश्यक रकम सहयोग गरिएको हो। सहयोगदाताद्वयलाई प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो।
प्रतिष्ठानका सचिव रामशरण थापाका अनुसार, हाल जिल्लाकै एकमात्र ज्येष्ठ नागरिक प्रतिष्ठानमा ३६ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन्।
यसैबीच, प्रतिष्ठानमार्फत सञ्चालन हुने अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै, उक्त आयोजना बहुवर्षीय योजनामा समेत समावेश गर्ने प्रतिबद्धता महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिष्ठानले प्राप्त सहयोगले ज्येष्ठ नागरिकको सेवा र स्वास्थ्य पूर्वाधार विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्