एमाले- नेकपाबीच सहमति : प्रदेशमा संयुक्त सरकार गठनदेखि नेतृत्व बाँडफाँटसम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ९, शनिबार १८:३१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा सहमति भएको छ।


प्रदेशसभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।


एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको सहमति पत्रमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ।


सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले नेतृत्व गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले नेतृत्व गर्ने सहमति भएको छ।


त्यस्तै, मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।


दुई दलबीच भएको यो सहमतिले प्रदेश सरकार गठन तथा सञ्चालनमा देखिँदै आएको अन्योल हटाउँदै राजनीतिक स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहमति पत्रमा २०८३ साल साउन ९ गते हस्ताक्षर गरिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *