काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै घटेको संवेदनशील र दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनाप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ।
रास्वपाले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कुनै पनि समस्या वा विवादको समाधान हिंसाबाट सम्भव नहुने स्पष्ट गरेको छ। नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकतालाई जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।
विज्ञप्तिमा साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा अफवाह र उत्तेजनाको पछि नलाग्न आम नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालासँग अपिल गरिएको छ।
रास्वपाले शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र परिस्थिति सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको जनाएको छ। साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
पार्टीले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका खेल्ने जनाएको छ। साथै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दलसँग आग्रह गर्दै रास्वपाका स्थानीय समिति तथा कार्यकर्तालाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्