काठमाडौं । सुनसरीको देवानगञ्जलगायत विभिन्न जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न आम नागरिकलाई अपिल गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैठकले नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधि तथा उत्तेजनामा नआउन सबैलाई आग्रह गरेको छ। आवेग र मुठभेडले समस्या समाधान गर्नुको सट्टा थप जटिलता निम्त्याउने भन्दै संयमता अपनाउन अपिल गरिएको छ।
लोकतान्त्रिक व्यवस्थामा जस्तोसुकै असन्तुष्टि र जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोजिनुपर्नेमा जोड दिँदै बैठकले सम्बन्धित सबै पक्षलाई आफ्ना माग तथा असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आग्रह गरेको छ।
सामाजिक सद्भाव कायम गर्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने निष्कर्ष निकाल्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न राजनीतिक दलका तल्लो तहका समितिहरूलाई निर्देशित गरिएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनलाई समेत सहभागी गराएर शान्ति तथा विश्वासको वातावरण निर्माण गर्न बैठकले आग्रह गरेको छ।
त्यस्तै, यस्ता संवेदनशील घटना भविष्यमा देशका कुनै पनि भूभागमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तहबाट आवश्यक पहल, निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता बैठकले जनाएको छ।
बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति तथा अफवाहले परिस्थितिलाई थप भयावह बनाउन सक्ने भन्दै नागरिकलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आग्रह गरेको छ। सञ्चारमाध्यमलाई पनि संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न अपिल गरिएको छ।
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै सर्वदलीय बैठकले परिस्थितिलाई सामान्य बनाउन अधिकतम संयमता अपनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सहभागी राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्