काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जलगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गर्नुभएको छ।
बिहीबार अपिल जारी गर्दै राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्नुभएको छ।
उहाँले शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ।
राष्ट्रपति पौडेलले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति–सुव्यवस्था पूर्ववत् अवस्थामा ल्याउन तथा नागरिकलाई शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकारबाट हरसम्भव प्रयास हुने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले कठिन परिस्थितिमा घटनालाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न सबैलाई हार्दिक अपिल गर्नुभएको छ।
राष्ट्रपति पौडेलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ।
उहाँले घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्