सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत श्रावण १० गते भएको दुःखद घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न माग सम्बोधन गर्ने सहमति भएको छ।
श्रावण १४ गते भएको सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १०–१० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ।
सम्झौतामा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने उल्लेख छ।
त्यस्तै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ।
मृतक प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सम्झौतामा उल्लेख छ।
त्यसैगरी, मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा दोस्रो पक्षका तर्फबाट गृह मन्त्रालयका सहसचिव सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्