कांग्रेस एकताका लागि नयाँ अभियान, साउन २० मा काठमाडौंमा राष्ट्रिय एकता भेला

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १७, आईतवार १२:५८

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असमझदारी अन्त्य गर्दै पार्टीलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ सार्वजनिक गरिएको छ। अभियानले साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने घोषणा गरेको हो।


आइतबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास, गुटगत विवाद र संगठनात्मक कमजोरीलाई अन्त्य गरी कांग्रेसलाई वैचारिक तथा सांगठनिक रूपमा पुनः सशक्त बनाउने लक्ष्यका साथ अभियान अघि बढाइएको बताए।


अभियानले जारी गरेको धारणा अनुसार मुलुक अहिले सामाजिक, आर्थिक र राजनीतिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव विभिन्न मधेशी जिल्लासम्म फैलिनु, आर्थिक मन्दी, बढ्दो बेरोजगारी, युवाको विदेश पलायन तथा सुशासनमा आएको संकटले देशको अवस्था जटिल बन्दै गएको उल्लेख गरिएको छ।

वक्तव्यमा सरकार जनअपेक्षा पूरा गर्न प्रभावकारी बन्न नसकेको र यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमै अल्झिरहनु लोकतान्त्रिक व्यवस्थाकै लागि चिन्ताको विषय भएको जनाइएको छ।


अभियानका अनुसार विगतका अनुभवले कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक मूल्य–मान्यता पनि कमजोर हुने देखिएकाले पार्टीलाई एकताबद्ध बनाउने प्रयास आवश्यक भएको निष्कर्ष निकालिएको छ।


काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने राष्ट्रिय एकता भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न वर्ग, समुदाय र तहका प्रतिनिधिहरूको सहभागिता रहने दाबी गरिएको छ।


भेलामार्फत पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्ध थप मजबुत बनाउने र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने अभियानले जनाएको छ। आयोजकले यो अभियान कुनै व्यक्ति वा गुटको हितका लागि नभई सशक्त कांग्रेस, मजबुत लोकतन्त्र र समृद्ध नेपालको साझा लक्ष्यका लागि सुरु गरिएको स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *