बेलकोटगढीमा मलको चरम अभाव : अदुवा, धान र तरकारी खेती संकटमा, किसान घण्टौँ लाइनमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १७, आईतवार १८:४०



-किशाेर वली

बेलकाेटगढी , साउन १७ । बेलकोटगढी नगरपालिकामा रासायनिक मलको चरम अभाव भएपछि किसानहरू गम्भीर समस्यामा परेका छन्। खेतीको अत्यन्त संवेदनशील समयमा आवश्यक मात्रामा मल उपलब्ध हुन नसक्दा अदुवा, धान तथा तरकारी बालीको उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको हो।


बेलकोटगढी नगरपालिकाका १३ वटै वडामा धान र तरकारी खेती व्यापक रूपमा गरिन्छ भने वडा नं. १० लगायतका क्षेत्रमा अदुवा प्रमुख नगदे बालीका रूपमा उत्पादन हुँदै आएको छ। तर बालीलाई आवश्यक पर्ने समयमा पर्याप्त रासायनिक मल नपाउँदा किसानहरू चिन्तित बनेका छन्।


शनिबार बिहानैदेखि मल वितरण केन्द्रमा किसानहरूको बाक्लो भीड लागेको थियो। घण्टौँ लाइनमा बसेपछि पनि अधिकांश किसानले आवश्यकताको तुलनामा अत्यन्त न्यून परिमाणमा मात्र मल पाएको गुनासो गरेका छन्। किसानका अनुसार प्रतिव्यक्ति करिब ८ किलो डीएपी र १० किलो युरिया मात्र वितरण गरिएको छ, जुन खेतीका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।


किसानहरूले समयमै पर्याप्त मल उपलब्ध गराउन नसकिए अदुवा, धान तथा तरकारी बालीको उत्पादनमा उल्लेखनीय गिरावट आउने, उत्पादन लागत बढ्ने तथा आम्दानी घट्ने बताएका छन्। यसले स्थानीय कृषि अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने उनीहरूको चेतावनी छ।


बेलकोटगढीका किसानहरूले सम्बन्धित सरकारी निकाय, कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसनसँग आवश्यक परिमाणमा रासायनिक मलको सहज, नियमित र समयमै आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले खेतीको मुख्य सिजनमा पटक–पटक मल अभाव हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग प्रभावकारी योजना लागू गर्न समेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *