काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य पुनः समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। निगमले नयाँ मूल्य सोमबार बिहानदेखि लागू हुने जनाएको छ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलर थप गरिएको निगमले जानकारी दिएको छ।
मूल्य समायोजनपछि पहिलो वर्गका डिपो क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ। डिजेल र मट्टीतेलको मूल्य पनि सोही वर्गीकरणअनुसार निर्धारण गरिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी तथा वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन्। काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा समावेश गरिएको छ।
निगमका अनुसार भारतबाट आयात हुने पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा र डिजेलमा ३९ रुपैयाँ ६७ पैसा लागत बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको हो। मूल्यवृद्धिसँगै यातायात तथा दैनिक उपभोग्य वस्तुको भाउमा पनि असर पर्ने अनुमान गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्