तराई-मधेशमा घटेका घटनाको छानबिन समिति गठन गर्न कांग्रेसकाे माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १८, सोमबार १९:२१

काठमाडौँ : नेपाली कांग्रेसले कोशी र मधेश प्रदेशमा भएका घटनाको छानबिनका लागि न्यायिक समिति गठनको माग गरेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बसेको संसदीय दलको बैठकले घटनाको छानबिनका लागि सरकारसँग न्यायिक समिति माग गरेको हो।

महामन्त्री प्रदीप पौडेलले सुनसरी, सिरहा, धनुषा र पर्सामा भएका घटनाको न्यायिक छानबिनका लागि समिति गठनको विषय प्रतिनिधिसभा र राष्ट्रियसभामा उठाउने जानकारी दिए। ‘सुनसरी र सिरहामा भएको घटना गम्भीर रहेकाले अहिले बनेको समितिले छानबिन गर्न नसक्ने कांग्रेसको निष्कर्ष छ ।

‘त्यो गम्भीर घटना हो । घटनाको न्यायिक छानबिन हुनुपर्छ। स्वतन्त्र र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ,’ महामन्त्री पौडेलले भने, ‘‘घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गरिनुपर्छ। कानूनबमोजिम दोषीलाई कारबाही गर्ने स्थिति बन्नुपर्छ,’ उनले भने, ‘यो विषय प्रतिनिधिसभा र राष्ट्रियसभामा नेपाली कांग्रेसले उठाउने छ। समिति बनाउनु पर्ने अडान नेपाली कांग्रेसले सभाहरूमा राख्ने छ।’

बैठकले सरकारले गरेका कतिपय निर्णय संविधानको मर्म, भावना र विधिसम्मत प्रक्रियाविपरीत भएको भन्दै सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायतका निर्णय कानुन र स्थापित विधिअनुसार गर्न सरकारलाई सचेत गराउने निर्णय पनि गरेको छ ।

यस्तै, नागरिक, सांसद र संसदबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश’ पारित गरिएको छ ।

बैठकले कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठलगायतप्रति शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *