वाग्मती सरकारमा फेरि फेरबदल, शैलेन्द्रमान बज्राचार्य बने भौतिक पूर्वाधारमन्त्री

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १९, मंगलवार १५:३२


काठमाडौं । वाग्मती प्रदेश सरकारमा फेरि मन्त्रिपरिषद् हेरफेर गरिएको छ। भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलले मंगलबार पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन्।


संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) अनुसार मन्त्री पौडेलले आफ्नो राजीनामा मुख्यमन्त्रीसमक्ष बुझाएकी हुन्।
उनको स्थानमा हाम्रो नेपाली पार्टी (हानेपा)का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बज्राचार्यले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।


पुनर्गठित मन्त्रिपरिषद्अनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी आफैं राखेका छन्। शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।


त्यस्तै प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा शैलेन्द्रमान बज्राचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्।


मुख्यमन्त्री बानियाँले सरकारको कार्यसम्पादनलाई थप चुस्त, समन्वयात्मक र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयहरूको जिम्मेवारी पुनः बाँडफाँट गरिएको बताएका छन्।
प्रदेश सरकारमा बदलिँदो सत्ता समीकरण, गठबन्धन व्यवस्थापनको चुनौती र राजनीतिक दबाबका बीच गरिएको यो मन्त्रिपरिषद् पुनर्गठनले वाग्मती प्रदेशको आगामी राजनीतिक अवस्था र सरकारको स्थायित्वबारे नयाँ बहस सुरु गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *