
काठमाडौँ । सरकारले पाँच जना उच्च प्रहरी अधिकारी अर्थात एआईजीहरुको सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थीको प्रकरणमा मातहतमा प्रहरी अधिकारीहरुसँग समन्वय गर्ने एआईजी श्याम ज्ञवालीसहित पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्का अधिकार प्रयोग गर्दै उच्च प्रहरी अधिकारीहरुको सरुवा गर्नुभएको बताइएको छ । सरुवा हुनेहरुमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवाली रहनु भएको छ । उहालाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । यस्तै प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ । थापाको स्थानमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ ।
राईले सरुवा प्रकृयामा असन्तुष्टि जनाएका थिए । तर उनको असन्तुष्टिको सुनुवाइ भएन । मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ । सरुवा मापदण्ड बनाउने भण्डारीको पनि पाँच महिनामा सरुवा भएको हो । तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत् राखिएको छ । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् ।
मुलुकमा विभिन्नखाले भ्रष्टाचारका काण्डहरुको छानविन भैरहेका बेला सत्तारुढ दलहरुबीचको सहमति अनुसार प्रहरी उच्च अधिकारीहरुको सरुवा गरिएको विषयमा भने सरकारको आलोचना समेत भएको छ । यद्यपि सरकारी स्रोतले भने नियमित प्रक्रिया अनुसार नै सरुवा भएको बताएको छ । पछिल्लो समय भटानी शरणार्थी प्रकरणको छानविनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका ज्ञवालीको सरुवाले भुटानी शरणार्थी प्रकरण अबका दिनमा सामसुम हुनेमा शंका थपिएको जानकारहरु बताउँछन्