
स्थानीय उत्पादनबाट तयार पारिएको परिकारलाई वितरण गर्दै कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु, तस्बिर ः क्षेत्रपाल मावि
चौघडा । मुलुकका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा कमजोर रहँदै आएको भनेर त्यसप्रति आम रुपमा गुनासो बढिरहेका बेला नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४मा रहेको सामुदायिक विद्यालय क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरु भने अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएका छन् । नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा वर्गिकृत रहेको क्षेत्रपाल मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आज आफ्नै मेहनमा विभिन्न परिकार बनाएर ,फुड फेस्टिबल, मनाएका छन् ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीका अनुसार कक्षा १० का विद्यार्थीहरुले आफ्नो परियोजना कार्य अन्तर्गत स्थानीय उत्पादनबाट खानाका विभिन्न स्वादिष्ट परिकारहरू बनाएर Food Festival मनाएका हुन । अंग्रेजी विषयको व्यावहारिक सिकाइका लागि विद्यार्थीहरुले उक्त कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रमको संयोजन माध्यमिक शिक्षक कमला चुदाराले सहजिकरण गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यार्थीले बनाएका परिकार स्थानीय उत्पादित वस्तुहरुबाट तयार पारिएको थियो । उनीहरुले बनाएका परिकारलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरुले निकै स्वादिष्ट मानेको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ सुवेदीले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा पनि ज्ञान प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । जिल्लाकै पुरानो र उत्कृष्ट विद्यालयको रुपमा रहेको क्षेत्रपाल माविको सक्षम व्यवस्थापकिय नेतृत्व र अनुभवि प्रशासकिय नेतृत्वको संयोजनका कारण पछिल्लो समय अतिरिक्त क्रियाकलापसहित एसइईको परीक्षमा पनि उत्कृष्ट रहँदै आएको छ ।