
कार्यक्रमबारे पत्रकार सम्मेलनमा सहभागि प्याब्सन पदाधिकारीहरु ,तस्बिर ःउमेश पाण्डे
उमेश पाण्डे
काठमाडौ । मौलिक संस्कृतिलाई विद्यालय स्तरबाटै संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नारीहरूको महान् पर्व हरितालिका तीजको विशेष अवसरमा प्याब्सन काठमाडौंले ‘प्याब्सन अन्तर – विद्यालय तीज विशेष’ नृत्य प्रतियोगिता–२०८० को आयोजना गर्ने भएको छ । यही भदौ २७ गते राष्ट्रिय नाचघर, जमलमा प्रतियोगिताको आयोजना गर्न लागिएको बताइएको छ ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाको उपाध्यक्ष तथा कार्यक्रम संयोजक रीता राई (दाहाल) ले देशको भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । नेपाली मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले विद्यालय स्तरबाटै नेपाली नारीहरूको महान् पर्व तीजको विशेष अवसर पारेर वि.सं.२०६९ सालमा पहिलो संस्करण प्रारम्भ गरेको प्याब्सन काठमाडौंले यस वर्ष भदौ २७ मा दशौं संस्करण – २०८० को आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
कार्यक्रम संयोजक राईले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार यस नृत्य प्रतियोगितामा ६० विद्यालयका त्यति नै सङ्ख्यामा नृत्य समूहहरू सहभागी हुने छन् । प्रतियोगी समूहहरू मध्ये प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालय वा समूहलाई क्रमशः रु. २०,०००।–, रु. १५,०००।– र रु. १०,०००।– नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने र ४औँदेखि १०औँ स्थानसम्म प्राप्त गर्ने विद्यालय वा समूहलाई ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा कक्षा १० सम्मका छात्राहरूलाई मात्र समावेश गराउनुपर्ने, नृत्य समूहमा कम्तीमा १२ जना र बढीमा १६ जनासम्मको भहभागिता रहनुपर्ने र गीतको बोल तीज विशेष नै हुनुपर्ने जानकारी पनि गराइएको थियो ।