काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन हुनसक्ने भएको छ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले शनिबार बिहान नुवाकोटका पार्टी नेता तथा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा देउवाको स्वदेश फर्किने समय परिवर्तन हुनसक्ने जानकारी दिएका हुन्।
महतका अनुसार हालसम्म देउवा साउन २६ गते बेलुका ९ः१५ बजे नेपाल फर्किने समय तय भएको छ। तर, विभिन्न पक्षबाट दिउँसोको समयमा आउन आग्रह भइरहेकाले २६ गतेको सट्टा २७ वा २८ गते दिउँसोको फ्लाइट मिलाउने प्रयास भइरहेको छ।
‘अहिलेसम्म २६ गते बेलुका ९ः१५ बजेको समय पक्का भएको छ। तर, धेरै आग्रह दिउँसो भए राम्रो हुन्छ भन्ने भएकाले २६ गतेको सट्टा २७/२८ गते दिउँसोको फ्लाइट मिलाउने प्रयास भइरहेको छ। त्यसबारे खबर भइहाल्छ,’ महतले भने।
महतले देउवालाई स्वागत गर्न विमानस्थलमा जानसमेत पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
देउवाले साउन २९ गते नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्