देउवा स्वदेश फर्किने मिति फेरियो, साउन २८ गते दिउँसो काठमाडौं अवतरण गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २३, शनिबार १५:०८



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । यसअघि साउन २६ गते राति नेपाल फर्किने भनिएका देउवा अब साउन २८ गते दिउँसो काठमाडौं आइपुग्ने भएका छन् ।


कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा साउन २८ गते बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण गर्ने जानकारी दिएका छन् ।


कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि देउवा साउन २८ गते दिउँसो थाई एयरको उडानबाट नेपाल फर्किने तय भएको बताए ।


यसअघि नेता महतले देउवा साउन २६ गते राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी दिएका थिए । तर, रातिको समयमा काठमाडौं अवतरण हुँदा स्वागतका लागि असहज हुने भएकाले देउवाको फर्किने मिति र समय परिवर्तन गरिएको विश्वकर्माले बताए ।
‘फ्लाइट २६ गते राति थियो । राति नआउनुस्, हामीले स्वागत गर्न पाउनुपर्‍यो भन्यौं । अनि डेट सरेको हो । समय पनि दिउँसो भयो,’ विश्वकर्माले बताए ।


जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए ।


यसैबीच, कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने तयारी छ । भेलाको तयारीका लागि उक्त समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *