बागमतीमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २४, आईतवार ०६:३४


काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण बागमती प्रदेशमा आज वर्षा हुने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका पहाडी तथा तराई भूभागमा वर्षा हुने सम्भावना रहेको छ।


आज दिउँसो बागमती प्रदेशका अधिकांश भूभागमा बदली रहनेछ। प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


बागमतीका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। हाल पनि प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


आज राति बागमती प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र स्थानीय रूपमा जोखिम निम्तिन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी केही समय देशका विभिन्न भागसँगै बागमती प्रदेशमा समेत मनसुनी गतिविधि सक्रिय रहने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *