नुवाकोट । नेपाली कांग्रेस संस्थापनइतर समूहले साउन २९ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाका विषयमा नुवाकोटमा पनि कांग्रेस इतरपक्षका अगुवा नेता तथा कार्यकर्ताको भेला आयोजना गरिएको छ ।
नेपाली कांग्रेस नुवाकोटका पूर्वजिल्ला सभापति धुर्व अधिकारीको प्रमुख नेतृत्वमा आइतबार विदुरमा आयोजित भेलामा कांग्रेस नुवाकोट क्षेत्र नं. २ का नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।
भेलामा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव श्रीराम श्रेष्ठ, युवा नेता बासु सापकोटा, क्षेत्रीय सचिव ध्रुव ढकाल, प्रदेश सभापति गणेशमान लामा, प्रदेश सचिव अच्चुत रिजाल, महाधिवेशन प्रतिनिधि ससुनमाया तामाङ, नेपाल किसान संघका पूर्वकेन्द्रीय सदस्य प्रकाश ढुंगाना, जिल्ला सदस्य सुमित्रा तामाङ, युवा नेतृ पवित्रा ओझालगायत अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
भेलालाई सम्बोधन गर्दै पूर्वजिल्ला सभापति अधिकारीले पार्टीमा व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी बलियो हुन नसक्ने बताउनुभयो । उहाँले अहिले नेपाली कांग्रेसमा यस्तै अर्थहीन अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।
अधिकारीले नेपाली कांग्रेसको विवादका विषयमा सर्वोच्च अदालतले पुनरावलोकन गर्न आदेश दिएकाले त्यसले कांग्रेसको वैधानिकताका विषयमा स्पष्ट पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
भेलामा जिल्ला सचिव श्रीराम श्रेष्ठले लोकतन्त्रको रक्षा अदालतको फैसलाले मात्रै नहुने बताउँदै त्यसका लागि राजनीतिक आदर्श, संस्थागत निष्ठा, आपसी विश्वास र राष्ट्रिय जिम्मेवारीको बोध आवश्यक रहेकोमा जोड दिनुभयो ।
श्रेष्ठले विशेष महाधिवेशनसम्बन्धी पुनरावलोकनको प्रक्रियाले कांग्रेसको विवादलाई एउटा सामान्य कानुनी प्रक्रियाभन्दा पनि अझ अर्थ र महत्वको विषय बनाएको उल्लेख गर्नुभयो । उहाँले यसले कांग्रेसलाई आफ्नो विगतको विरासत, इतिहास र आफ्नो सिद्धान्त सम्झने अवसर दिएको बताउनुभयो ।
भेलामा सहभागी अन्य वक्ताहरूले कांग्रेसको विशेष महाधिवेशन विधि–विधानभन्दा बाहिर गएर सीमित स्वार्थका लागि गरिएको दाबी गर्दै सर्वोच्च अदालतले कांग्रेसका निष्ठावान नेता, कार्यकर्ता र शुभचिन्तकलाई न्याय दिने विश्वास व्यक्त गरेका थिए ।
भेलाले साउन २९ गते हुने केन्द्रीय भेलामा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै त्यसका लागि पार्टीका सम्पूर्ण तहलाई सहभागिताका लागि अपिलसमेत गरेको छ ।भेलामा उपस्थित कमजोर रहेपनि धेरै अगुवा कार्यकर्ता राजधानीमा भएकोले सहभागिताकाे प्रतिवद्वता आएकाे सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि नुवाकोट १ ले राजधानीमा बृहत भेला आयाेजना गर्दै भेलामा सहभागिता जनाउने निर्णय गरेकाे थियाे ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्