
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले— नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति” को सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु— ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गर्नु भएको छ ।
सभापति देउवाले आज मंगलबार चार जनालाई मनोनयन गर्नुभएका पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी, नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा निवर्तमान महान्यायधिवक्ता, केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य एवं अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गर्नु भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका विभागसहित भातृ संस्थाहरुलााई पूर्णता दिने सहमति भएको थियो । सहमति अनुसार नेपाल विद्यार्थी संघमा ७१० जनालाई मनोनित गरिएको छ । विभागहरुलाई भने पूर्णता दिइएको छैन । सभापति देउवा निकट स्रोतका अनुसार केही दिनभत्रै विभागलाई पनि पूर्णता दिने तयारी भैरहेको छ । उता कांग्रेसले सञ्चालन गर्ने भनिएको जनतासँग कांग्रेस कार्यक्रम स्थगित गरिएको छ । बर्षातको समय नसकिएको र आम नागरिक अझै खेतबारीमा व्यस्त हुने समय रहकाले कार्यक्रम केही पर सार्ने सहमति आजको कार्यसम्पादन समितिको बैंठकले गरेको जनाइएको छ