नुवाकोट । सूर्यगढी गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता सन्तबहादुर घलेले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कंदा आफू विमानस्थल पुगेर स्वागत गर्न जाने बताएका छन्।
कांग्रेस जिल्ला सचिव बैकुण्ठ मिश्रले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा प्रतिक्रिया दिँदै घलेले पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र त्यससँग जोडिएका विषयलाई गम्भीर रूपमा बुझ्नुपर्ने बताएका हुन्।
उनले देउवा अहिले विदेश जानुपर्नाको कारण, त्यहाँको घटनाक्रम कसरी अघि बढ्यो, घटना कसरी भयो र त्यसमा देशी–विदेशी कुन–कुन तत्वको भूमिका रह्यो भन्ने विषयमा आम नागरिकलाई समेत जानकारी हुनुपर्ने धारणा राखेका छन्।
घलेले भ्रष्टाचारको आरोप लागेमा नेपालको कानुनअनुसार कारबाही हुनुपर्ने भए पनि आरोपकै आधारमा नेताको अवस्था कमजोर बनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। उनले नेपालमा नेताहरूको विदेश भ्रमण र त्यससँग जोडिएका राजनीतिक घटनाक्रमबारे समेत व्यंग्यात्मक टिप्पणी गरेका छन्।
‘एक दिन एक दिन विदेशीको त म भन्न सक्दिनँ, नेपालमा सबै नेताको पालो त्यसरी नै आउँछ,’ उनले भनेका छन्, ‘किनकि भिरबाट डोकोमा बा लाई लगेर छोराले फालेपछि फाल्नेको पालो पनि फेरि आइहाल्छ।’
उनले विगतका राजनीतिक घटनाक्रम, नेताहरूले भोगेको अपमान र संघर्षलाई समेत सम्झनुपर्ने उल्लेख गर्दै देउवा स्वदेश फर्कने दिन आफू पनि उनलाई लिन जाने बताएका छन्।
‘२८ गते आउँदै हुनुहुन्छ, यी सबै विगतलाई हेरेर सात काम छाडेर भए पनि म पनि लिन जान्छु,’ घलेले सामाजिक सञ्जालमा प्रतिक्रिया स्वरुप लेखेका छन्।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्