
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ । केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौँ महाधिवेशन आयोजना गर्ने बताएका हुन् ।
उनले त्यसअघि पार्टीमा युवाविद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अघावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै बैठकले देशभर पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताए ।
१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने बताए ।
बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधीन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरुलाई झुटा मुद्दामा फसाउने लगायतका दलित माथी हुने जातीय छुवाछुत र भेदभावको घटनाको भत्र्सना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम नेपाल सरकारसँग माग गरेको छ । यसैबीच नेकपा एकीकृत समाजवादीको पार्टी सदस्यताको आवेदन फोनबाटै दिन सकिने भएको छ।