
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका आठ मन्त्रीसँग बुधबार कार्यसम्पादन करार सम्झौता गर्दै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका आठ मन्त्रीसँग बुधबार कार्यसम्पादन करार सम्झौता गरेका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रमा राखेर प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरिएको हो।
सम्झौतापत्रमा मन्त्रीहरूले चालू आर्थिक वर्ष ०८०/८१ मा सम्पादन गर्ने काम र जिम्मेवारीका बारेमा उल्लेख गरिएको छ मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। सम्झौतासँगै मुख्यमन्त्री जम्कट्टेल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले हस्ताक्षर गरेको सम्झौता-पत्र आदान-प्रदान गरिएको छ।
‘कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरूले चालू आवमा गर्नुपर्ने कामहरू, कार्ययोजना, समयसीमालगायत उल्लेख गरिएको छ। सम्झौताले प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्छ भन्ने विश्वास लिएको छु,’ सम्झौतापछि मुख्यमन्त्री जम्कट्टेलले भने।
उनले प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कामले संघीयतालाई संस्थागत गर्न र जनअपेक्षा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रदेशको विगतका पाँच वर्षहरूको अनुभवलाई आधार मानेर चालू आवको कार्यक्रम र बजेटलाई कार्यान्वयनका लागि सम्झौता गरेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरू यसमा खरो उत्रने दाबी गरे।
मख्यमन्त्री जम्कट्टेलले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ), आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्।
यस्तै उनले उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्कासँग पनि कार्यसम्पादन करार सम्झौता गरेका छन्।
१२ सदस्यीय मन्त्रिपरिषद्का तीनजना मन्त्रीहरू कार्यव्यस्तताले राजधानीबाहिर रहेकाले सम्झौता हुन नसकेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। उनले खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालसँग पछि सम्झौता गर्ने बताएका छन्।नयाँ पत्रिका दैनिकबाट -तस्बिर ः नयाँ पत्रिका