नुवाकोटमा रातभरको वर्षाले वितण्डा, बाढी–पहिरोले सडक, पुल र संरचनामा क्षति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ५, शुक्रबार ०९:०७


विदुर । नुवाकोटमा गएराति परेको भारी वर्षापछि आएको बाढी र पहिरोले विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। शिवपुरी गाउँपालिकाका सडक, पुल तथा संरचनामा क्षति पुगेको छ भने पञ्चकन्या गाउँपालिकामा गोठ भत्किँदा एक भैंसी घाइते भएको छ।


शिवपुरी गाउँपालिका–५ को शेराबगर क्षेत्रमा आएको बाढीले गाउँपालिकाको कृषि उपज संकलन केन्द्र तथा छहरे–पाटीभञ्ज्याङ लोकमार्गअन्तर्गतको पुलमा क्षति पुर्‍याएको छ। माथिल्लो मुलाबारी क्षेत्रबाट पहिरोसँगै आएको लेदो र पानीको तीव्र बहाव शेराबगरतर्फ पस्दा सडक तथा आसपासका संरचना प्रभावित भएका हुन्।


बाढीले कृषि उपज संकलन केन्द्र वरपर ढुंगा, माटो र लेदो थुपारेको छ। कृषि योग्य जमिनमा समेत लेदो र ढुंगा थुप्रिएपछि खेतीपातीमा असर परेको स्थानीयले बताएका छन्। बाढीको बहावले घर तथा पशुचौपायामा समेत जोखिम बढाएको छ।


मुलाबारीतर्फबाट आएको पहिरो र लेदोसहितको बाढीले हुलाक कार्यालय तथा कर्मचारी क्वाटर आसपासका क्षेत्रमा समेत क्षति पुगेको बताइएको छ। रातिको समयमा एक्कासि बाढी र पहिरो आएपछि स्थानीयमा त्रास फैलिएको थियो।


यसैगरी, छहरे–पाटीभञ्ज्याङ सडकखण्डको पुलमा क्षति पुगेपछि सवारी आवागमन रोकिएको छ। पुलको अवस्था कमजोर रहेकाले तत्काल उक्त मार्ग प्रयोग गर्न जोखिम रहेको जनाइएको छ। अवस्था सामान्य नहुँदासम्म स्थानीय तथा यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।


भारी वर्षाका कारण शिवपुरीसँगै पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। यद्यपि, वर्षाजन्य विपद्बाट भएको क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको छ।


पञ्चकन्या गाउँपालिका–२ कपिलेश्वर भसभसेमा स्थानीय सष्टिलाल श्रेष्ठको गोठसमेत भत्किएको छ। गोठ भत्किँदा त्यहाँ रहेको भैंसी घाइते भएको बताइएको छ।


लगातारको वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेकाले स्थानीय तह तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम अघि बढाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *