
फाइल तस्बिर
काठमाडौं । नुवाकोट जिल्लाको पुरानो मार्गको रुपमा रहेको पासाड.ल्हामु राजमार्ग अन्र्तरगत रानीपौवादेखि पिपलटार सडक खण्डका लागि सडक डिपीआरको काम सुरु भएको छ । सडक विभाग उक्त सडक आयोजनाले डिपीआरको काम अघि बढाएको छ । डिपीआर सकिए लगत्तै रकम सुनिश्चित गरेर ठेक्का प्रक्रिया सुरु गरिने जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त सडकका लागि बजेटको सुनिश्चितता गर्ने प्रतिवद्धतासहित डिपीआरको काम अघि बढाउन दिनुभएको निर्देशन अनुसार उक्त काम सुरु भएको बताइएको छ । उक्त आयोजनाका प्रमुख मेघराज मरासैनीका अनुसार करिब डेड महिनासम्मका सडकको डीपीआरको काम सम्पन्न हुनेछ । रानीपौवाबाट पीपलटार ३४ किमि छ । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे ४ किमि सडक बनिसकेको छ ।
रानीपौवा–पीपलटार सडकमा भने डेढ महिनापछि स्रोत सहमतिका लागि अर्थ र राष्ट्रिय योजना आयोग पठाइनेछ । ‘दुवै खण्डको ठेक्का चालु आर्थिक वर्षमै गर्ने गरी तयारी गरिरहेकोे उहाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट डीपीआर गरेपछि ठेक्का लगाइनेछ । यहाँ २ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको आयोजना प्रमुख मरासैनीले जानकारी दिनुभयो । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
उता नेपाली कांग्रेसका नेता तथा सोही क्षेत्रका सांसद अर्जुननसिंह केसीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेर सो सडकका लागि बजेट माग गर्नुभएको थियो । केसीले उक्त सडकका विषयमा कुरा उठाउनु र अर्थमन्त्रालयले बजेट सुनिश्चितता गर्नु संयोग मिलेको छ । तर सो विषयलाई लिएर कांग्रेस नुवाकोटका नेता कार्यकर्ताहरु समेत आफ्नो पक्षलाई जस लिनेगरि सामाजिक सञ्जालमा उत्रिएका छन् । उता बालाजु रानीपौडा सडकको लागि पनि टेण्डरको प्रक्रियाको थालनी भएको उहाले जानकारी दिनुभयो । उहाले सरकारले बजेट वक्तव्य मार्फत जम्मा ५० करोड बजेट छ्ट्याएको भएपनि उक्त परियोजनाका लागि १ अर्थ ३७ करोड लाग्ने भएको र सो रकमका लागि अर्थमन्त्रालयसँग समन्वय भैरहेको र अर्थको स्वीकृत भएसँगै डेण्डर आह्रवान गरिने पनि मरासैनीले जानकारी दिनुभयो ।