बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा सञ्चारमन्त्री तिमिल्सिनाकाे पहल, स्थानीयका समस्या समाधानमा छलफल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ५, शुक्रबार ११:१२



काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर विसर्जनसँगै त्यहाँका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

बञ्चरेडाँडाका स्थानीयवासीले भोग्दै आएका सडक, दुर्गन्ध, अव्यवस्थित फोहोर व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी समस्याको दीर्घकालीन समाधानका विषयमा नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलबीच बिहीबार छलफल भएको छ।


छलफलमा सडक स्तरोन्नति, फोहोरको प्रभावकारी क्यापिङ, स्रोतमै फोहोर वर्गीकरण तथा २१ वटै स्थानीय तहको साझा जिम्मेवारीमार्फत बञ्चरेडाँडाको दिगो र वैज्ञानिक व्यवस्थापन अघि बढाउने विषयमा छलफल भएको हो।


झन्डै दुई दशकदेखि बञ्चरेडाँडामा काठमाडौं उपत्यकासहित विभिन्न स्थानको फोहोर विसर्जन हुँदै आएको छ। तर, फोहोर व्यवस्थापनसँगै स्थानीयवासीले भोग्दै आएका समस्या भने अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन्। दुर्गन्ध, सडकको अवस्था, वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिमका कारण स्थानीयको गुनासो वर्षौंदेखि निरन्तर रहँदै आएको छ।


राज्य पक्षबाट पटक–पटक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त हुँदै आए पनि स्थानीयले दीर्घकालीन निकासको अनुभूति गर्न नसकेको बताउँदै आएका छन्। फोहोर विसर्जनस्थल आसपासका बासिन्दा क्यान्सरजस्ता गम्भीर रोगसहित विभिन्न स्वास्थ्य समस्यासँग जुध्न बाध्य भएको स्थानीयको गुनासो छ।


स्थानीयको समस्या समाधान नगरी फोहोर विसर्जनलाई मात्रै निरन्तरता दिँदा समस्या झन् जटिल बन्ने भएकाले फोहोर व्यवस्थापनसँगै प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा छलफलका क्रममा जोड दिइएको छ।


बञ्चरेडाँडालाई दीर्घकालीन रूपमा व्यवस्थित र वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्रका रूपमा विकास गर्न संघ, प्रदेश, स्थानीय तह तथा प्रभावित क्षेत्रका नागरिकबीच समन्वय र साझा जिम्मेवारी आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *