नुवाकोट । पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य राधिका तामाङले अविरल वर्षाका कारण बाढीपहिरोबाट क्षति पुगेका नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।
२०८३ साल भदौ ४ गते राति परेको अविरल वर्षाका कारण बाढीपहिरो गई शिवपुरी गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गअन्तर्गत शेरावगरमा सडक अवरुद्ध भएपछि पूर्वमन्त्री तामाङले शनिबार उक्त क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो।
अवलोकनका क्रममा उहाँले शिवपुरी गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष वीरबहादुर तामाङ, नेकपा शिवपुरीका अध्यक्ष मिनबहादुर तामाङ, वडा नं. १ का अध्यक्ष सुकराम तामाङ र वडा नं. ५ का अध्यक्ष रेशम तामाङलगायत स्थानीय जनप्रतिनिधिसँग क्षतिको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
त्यसैगरी तामाङले पञ्चकन्या, दुप्चेश्वर, तादी र लिखु गाउँपालिकाभित्र बाढीपहिरोका कारण विस्थापित परिवारको अवस्थाबारे समेत जानकारी लिनुभएको छ। विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुगेर यातायात अवरुद्ध भएको विषयमा सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग जानकारी लिँदै उहाँले प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन तत्काल पहल गर्न आग्रह गर्नुभयो।
बाढीपहिरोका कारण अवरुद्ध भएका सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि तामाङले निर्देशन दिनुभएको छ। उहाँले विपद्का कारण प्रभावित तथा विस्थापित परिवारको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्