
काठमाडौं, नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।
बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाउनु भएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । उपाध्यक्षमा पनि कँडेल प्यानलका भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत प्राप्त गर्दै विजयी हुनुभयो । यस्तै, उपसचिव पुरुषतर्फ पूर्ण बुढा मगर र महिलातर्फ लीला राना मगर निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेको लुम्बिनी प्रदेशमा शंकर पोखरेल पक्ष र विष्णु पौडेल पक्षबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा पोखरेल पक्ष पराजित हुन पुगेको छ । पछिल्लो समय केपी ओलीसँग पौडेललको दुरी टाढा भएको अनुमान गरिहेका बेला पौडेलले उक्त प्रदेशमा आफ्नो पकड राख्न सफल हुनुभएको छ ।