‘देश रोइरहेका बेला मेरो मन पनि थामिएन’—रसुवा बाढीपीडितका लागि समाजसेवी गजुरेलद्वारा १ लाख १ हजार सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १२, शुक्रबार १०:२७

नुवाकोट । विपत्ति बाजा बजाएर आउँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ। तर, विपत्तिको सही सूचना समयमै प्राप्त भयो र त्यसअनुसार सतर्कता अपनाउन सकियो भने कैयौँ अमूल्य मानवीय जीवन जोगाउन सकिन्छ।

तर यसपटक रसुवाबाट आएको विपत्ति मानौँ सपना झैँ आयो र क्षणभरमै ठूलो विनाश छाडेर गयो। भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीको पीडाले अहिले सिंगो देश शोकमा छ।


कसैको घर उजाडिएको छ, कसैले आफन्त गुमाएका छन्, कोही अझै आफ्ना प्रियजनको खोजीमा छन्। बाढीले छाडेको पीडा र त्रासबीच प्रभावित परिवारका आँखामा आँसु अझै रोकिएको छैन।
यही पीडाको घडीमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ कुमरी निवासी युवा समाजसेवी तथा निर्माण व्यवसायी एवम् राजनीतिज्ञ पूर्णप्रसाद गजुरेलले बाढीपीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।


गजुरेलले शुक्रबार बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो। आफ्नै जिल्ला र आसपासका बस्तीमा भएको विनाशले आफूलाई गहिरो रूपमा दुःखी बनाएको बताउँदै गजुरेलले पीडितको दुःखमा आफ्नो तर्फबाट सानो भए पनि साथ दिने प्रयास गरेको बताउनुभयो।


‘सिंगो जिल्ला, जिल्लावासी र देश नै रोइरहेका बेला म कसरी चुप बस्न सक्छु र ?’ उहाँले भन्नुभयो, ‘पीडितको पीडा मेरो पनि पीडा हो। मैले गरेको सहयोग ठूलो होइन, यो दुःखको घडीमा आफ्नो तर्फबाट गरेको सानो मानवीय प्रयास मात्रै हो।’


उहाँले विपत्तिको समयमा सबैले आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। संकटको समयमा रकमभन्दा पनि पीडितको साथमा उभिने भावना महत्वपूर्ण हुने उहाँको भनाइ छ।
राजनीति, समाजसेवा तथा निर्माण व्यवसायमा सक्रिय गजुरेलले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा संकटका समयमा प्रभावित नागरिकलाई सहयोग गर्दै आउनुभएको छ।


गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ हुँदै चितवनसम्म ठूलो क्षति पुर्‍याएको छ। टिमुरे, स्याफ्रु, शान्तिबजार, बेत्रावती, त्रिशूली, ढुंगे, देवीघाट, बैरेनीलगायतका क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएका छन्।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सयौँ नागरिकको ज्यान गएको, सयौँ घाइते तथा धेरै नागरिक अझै सम्पर्कविहीन रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम जारी छ।


प्रधानमन्त्रीले बिहीबार नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै घाइते तथा पीडित नागरिकसँग भेटवार्ता गर्नुभएको थियो।
विपत्तिले भूगोल छुट्याएन, जात–धर्म हेरेन, धनी–गरिब छुट्याएन। यसले धेरै परिवारको खुसी खोसेको छ। यस्तो कठिन घडीमा गजुरेलको १ लाख १ हजार रुपैयाँको सहयोग केवल आर्थिक सहायता मात्रै नभई ‘दुःखमा हामी एक्ला छैनौँ’ भन्ने पीडित परिवारका लागि मानवीय साथको सन्देश बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *