तिब्बतमा पहिरोले बनेको कृत्रिम ताल फुट्ने जोखिम, चिनियाँ अधिकारीद्वारा उद्धार कार्य स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १२, शुक्रबार ११:२२



काठमाडौँ । नेपाल–चीन सीमावर्ती तिब्बतमा गएको भीषण पहिरोपछि नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम बढेपछि चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्।


गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्‍याएको थियो। पहिरोका कारण नदी थुनिएर बनेको तालमा लगातारको वर्षाले पानीको सतह उच्च बिन्दुमा पुगेपछि जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम बढेको अधिकारीहरूले बताएका छन्।


चिनियाँ राज्यनियन्त्रित सञ्चारमाध्यमका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धारमा खटिएका टोलीलाई तत्काल सुरक्षित स्थानमा रहन र उद्धार अभियान रोक्न निर्देशन दिइएको छ। तल्लो तटीय क्षेत्रमा थप विनाश हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मानिसहरूको आवतजावतमा समेत कडाइ गरिएको छ।


बीबीसीका अनुसार प्राकृतिक विपत्तिपछि तिब्बततर्फ ५५० भन्दा बढी मानिस बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेमध्ये करिब २६० जना विदेशी पर्यटक तथा तीर्थयात्री रहेको बताइएको छ। उनीहरूमध्ये कैलाश मानसरोवर दर्शनका लागि पुगेका तीर्थयात्रीहरूको संख्या ठूलो रहेको जनाइएको छ।


हाल चिनियाँ अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बढिरहेको पानीको सतहलाई निरन्तर निगरानी गरिरहेका छन्। भारी वर्षा जारी रहेकाले आगामी केही दिनमा बाढीको जोखिम थप बढ्न सक्ने आकलन गरिएको छ।


सम्भावित थप क्षति रोक्न र उद्धारकर्मी तथा स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *