नुवाकोट । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी हालसम्म ५१ जनाको मृत्यु, ४०५ जना बेपत्ता र ४० जना घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ०७ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट विदुर नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं. ४, ७, ८ र ९, तारकेश्वर गाउँपालिकाका वडा नं. २ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. ५ बढी प्रभावित भएका छन्।
भौतिक क्षतितर्फ ५ वटा सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ। यस्तै ३ वटा जलविद्युत् गृह र ४ वटा विद्यालयमा समेत आंशिक क्षति भएको प्रशासनले जनाएको छ। क्षति भएका विद्यालयमध्ये एक सरकारी र तीन निजी विद्यालय रहेका छन्।
बाढीका कारण नुवाकोटमा ७०० देखि ८०० वटा निजी घरमा क्षति पुगेको अनुमान गरिएको छ। सडक तथा पुलतर्फ १५ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रशासनले जनाएको छ।
केन्द्रीय कारागार नुवाकोटको खम्बा तथा कम्पाउण्ड पर्खालमा समेत बाढीले क्षति पुर्याएको छ। केही भाग पुरिएको भए पनि कैदीबन्दीहरू सुरक्षित रहेको प्रशासनको भनाइ छ। कार्यालय भवनको भुइँतल्लामा समेत बाढी पसेको छ।
उद्धारमा हेलिकप्टरदेखि स्थानीय संयन्त्र परिचालन
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म हेलिकप्टरमार्फत १ हजार ८२३ जना र स्थलमार्गबाट ५५ जनाको सफल उद्धार गरिएको छ।
बाढी तथा पहिरोबाट विस्थापित नागरिकमध्ये ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ। कतिपय बाढीपीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी प्राप्त भएकाले आश्रयस्थलमा थप प्रभावितको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।
प्रशासनले विपद्को जोखिम अझै कायम रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न संघसंस्था, रेडक्रस, सञ्चारकर्मी तथा आम नागरिकसँग सहयोगका लागि अपिलसमेत गरिएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्