
नुवाकोट । तारकेश्वर गाउँपालिका भित्र अन्र्तर विद्यालय काज सरुवा भएका शिक्षकहरूको सरुवा रोकिएको छ । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरुलाई सरुवा नगर्न र उक्त विषय यथास्थितिमा राख्न अन्तरिम आदेश भएसँगै शिक्षक सरुवा रोकिएको हो । पालिकाका ४६ जना शिक्षकहरुले शुक्रबार उच्च अदालतमा शिक्षक सरुवा बदर गरिपाउँ भनि रिट निवेदन दिएका थिए ।
सो रिट निवेदनका विषयमा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश विष्णुप्रसाद तिवारीको इजलासले तारकेश्वर गाउँपालिको नाममा अन्तरिम आदेश जारी गरेको गाउँपालिकाका शिक्षक राजु रिमालले जानकारी दिनुभयो । यस्तै अदालतले शिक्षक सरुवाको कारण समेत माग गरेको छ । गाउँपालिकाले ८६ जना शिक्षकलाई अन्तरविद्यालय सरुवा गरेको थियो । शिक्षक सरुवाका विषयमा शिक्षक संघ संगठन सहित राजनीतिक दलहरुले समेत विरोध जनाएका थिए ।

उनीहरुले शिक्षक सरुवाका विषयमा पालिका घेराउँदेखि अभिभावकहरुलाई समेत उतारेर पालिकाको निर्णयलाई रद्द गराउने प्रयास गरेका थिए । तर पालिका अध्यक्षले उल्टो स्पष्टिकरण सोधेपछि भने शिक्षकहरु अदालत पुगेका थिए । अदालतको आदेशसँगै शिक्षकहरु आ आफ्नो विद्यालयमा नै फर्कने आन्दोलनरत शिक्षकहरुले बताएका छन् ।
शिक्षकहरुको नेतृत्व गर्दै अदालतमा पुगेका शिक्षक हरि गाउँलेले समाजिक सञ्जाल फेसबुकमा आफूहरुको माग पूरा भएको भन्दै शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा नै जाने बाटो खुला भएको उल्लेख गरेका छन् । अदालतको आदेश अनुसार दुवैपक्षबीच आगामी पेशीमा बहस हुनेछ र न्यायाधीशको इजलासले पूर्ण आदेश जारी गर्नेछ । त्यतिन्जेलका लागि लागि भने शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न रोक लागेको छ ।त्यसपछि भने अदालतको आदेशमा निर्भर गर्दछ ।