भोटेकोशी बाढीमा नुवाकोटले गुमायो क्रिकेट संघका सचिव करण खतिवडा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १७, बुधबार १८:२०


नुवाकोट । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले नुवाकोटमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्लाका ऐतिहासिक तथा धार्मिक क्षेत्र, वर्षौँदेखि स्थापित बजार, सडक तथा खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने होनहार युवा, विद्यार्थी, ज्येष्ठ नागरिक तथा महिलासहित धेरैले ज्यान गुमाएका छन्।


यसैक्रममा नुवाकोटले क्रिकेट क्षेत्रका एक होनहार युवा करण खतिवडालाई पनि गुमाएको छ।


नुवाकोट त्रिशूली बजार निवासी खतिवडा भदौ १० गते आफ्नी आमासँगै पसलमा त्रिशूली बजार थिए। सोही दिन आएको भोटेकोशी–त्रिशूली बाढीपछि उनी सम्पर्कविहीन भएका थिए। घटनापछि निरन्तर खोजी गरिए पनि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको र बाढीमा परी उनको निधन भएको निष्कर्षमा पुगिएको नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो।


खतिवडा नुवाकोट क्रिकेट संघका वर्तमान सचिव तथा नुवाकोट क्रिकेट विकासमा सक्रिय व्यक्तित्व थिए। क्रिकेट खेलाडीका रूपमा समेत जिल्लालाई योगदान दिएका खतिवडाले नुवाकोटमा क्रिकेटको विकास, खेलाडी उत्पादन तथा खेल गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जनाएको छ।


अध्यक्ष पाठकले खतिवडाको असामयिक निधनले नुवाकोटको क्रिकेट परिवार स्तब्ध र मर्माहत भएको बताउनुभयो। उहाँको योगदान, समर्पण, नेतृत्व क्षमता र खेलप्रतिको प्रेम सदैव स्मरणमा रहने पाठकको भनाइ छ।


भोटेकोशी बाढीले नुवाकोटमा पुर्‍याएको मानवीय क्षतिको सूचीमा खतिवडाको नाम थपिनुले जिल्लाको खेलकुद क्षेत्रलाई समेत अपूरणीय क्षति पुगेको छ।


स्वर्गीय करण खतिवडाप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *