
हिजो बुधबार माइतीघर मण्डलामा भेला भएका शिक्षकहरु ः तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले शुक्रबार सिंहदबारमा सात बुँदे सहमति गरेलगत्तै उनीहरू विभाजित भएका हुन्। आन्दोलनरत शिक्षकहरु मध्ये राहत शिक्षकहरूले सरकार र शिक्षकका प्रतिनिधिहरूसँग भएको सहमति मान्य नहुने भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।वार्तामा सहमतिको ड्राफ्ट तयार भएपछि राहत शिक्षकका माग पूरा नभएको भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएर उनीहरू सिंहदबारबाट बाहिरिएका थिए।
‘महासंघका केही प्रतिनिधि र सरकारबीच सहमति भयो। यो हाम्रो सहमति हैन,’ राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने, ‘राहत शिक्षकको विषय सम्बोधन भएको छैन। त्यसैले वार्ताबाट बाहिरिएका हौँ। हामी विज्ञप्ति निकालेर आन्दोलन जारी राख्छौँ।’ २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग वार्तामा राखिएको तर सुनुवाइ नभएकाले बीचमै हिँडेको उहाको भनाई रहेको छ ।