काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोज, राहत तथा पुनःस्थापनामा सुरक्षाकर्मी निरन्तर खटिरहेको भन्दै नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा भ्रमपूर्ण तथा तथ्यहीन सूचना प्रचार–प्रसार नगर्न आग्रह गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायका सुरक्षाकर्मी उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, शव व्यवस्थापन तथा राहत सामग्री वितरणमा खटिरहेको उल्लेख छ।
विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी राहत सामग्री सुरक्षाकर्मीले आफैं लिएको, वितरण नगरेको वा सडाएर राखेको जस्ता भ्रामक तथा तथ्यहीन अफवाह फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
यस्ता गलत सूचनाले विपद्का समयमा उद्धार तथा राहतमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पार्ने, आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने तथा विपद् व्यवस्थापनसम्बन्धी संवेदनशील कार्यलाई प्रभावित पार्न सक्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले विपद्का समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सुरक्षाकर्मी सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै अफवाह तथा अपुष्ट सूचना प्रचार–प्रसार नगर्न सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ।
प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा विपद्को कठिन परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने र आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्