काठमाडौं । राजधानीको गोंगबुस्थित बिनायक अस्पतालले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न सामाजिक तथा स्वास्थ्य सेवामूलक कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा शुक्रबार अस्पतालले करिब ६ सय बिरामीलाई विशेष स्वास्थ्य सेवा प्रदान गरेको छ। कार्यक्रममा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई चिकित्सकको सिफारिसअनुसार आवश्यक जाँच तथा सेवामा ७५ प्रतिशत छुट र ७० वर्षभन्दा कम उमेरका बिरामीलाई ५० प्रतिशत छुट उपलब्ध गराइएको अस्पतालले जनाएको छ। साथै, ५० प्रतिशत छुटमा १० जना बिरामीको शल्यक्रिया समेत गरिएको थियो।
अस्पतालले स्थापना दिवसकै अवसरमा अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम समेत आयोजना गरेको थियो। स्वास्थ्य सेवा विस्तारसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्दै स्वास्थ्य र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रतिबद्धतासहित वृक्षरोपण गरिएको अस्पतालले जनाएको छ।
बिनायक अस्पतालले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट, रसुवा र धादिङलगायतका जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। साथै, विभिन्न वर्गका नागरिकलाई अस्पतालमै सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताइएको छ।
स्थापना दिवस समारोहमा अस्पतालका बोर्ड डाइरेक्टर प्रा. डा. विधान निधि पौडेल, समाजसेवी खगेन्द्र अधिकारी तथा मेडिकल डाइरेक्टर डा. उषा श्रेष्ठ खाँडले अस्पतालले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना दिएका थिए।
कार्यक्रमको समापन गर्दै बिनायक अस्पतालका कार्यकारी अध्यक्ष केपी लामिछानेले अस्पतालको ३१ वर्षे यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सेवाग्राही, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।
अध्यक्ष लामिछानेले आगामी दिनमा अझ गुणस्तरीय, सहज, सर्वसुलभ र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमको उद्घोषण संस्थाका सल्लाहकार रितु खनाल अधिकारीले गरेकी थिइन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्