बाढीले विद्यार्थीका पोसाक र शैक्षिक सामग्री बगाएपछि पृथ्वी माविको सहयोग अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २७, शनिबार १९:२६

विदुर, नुवाकोट । भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–२ मा रहेको पृथ्वी माध्यमिक विद्यालयका सयौँ विद्यार्थीका पोसाक, झोला, किताब तथा स्टेसनरी सामग्री नष्ट तथा हराएपछि विद्यालयले सहयोगका लागि अपिल गरेको छ।

विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले सामाजिक सञ्जालमार्फत विद्यालय पुनः सञ्चालन हुनुअघि विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा पोसाक जुटाउन सहयोगको आग्रह गरेका हुन्।

विद्यालयले असोज १ गतेदेखि पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको छ। तर, बाढीका कारण विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आफ्नो पोसाक, झोला, पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्री गुमाएका छन्। बाढीका बेला आएको विपद्का कारण विद्यार्थीहरू विद्यालयबाट भाग्ने क्रममा आफ्ना सामान छाड्न बाध्य भएका थिए।

भोटेकोशी बाढीबाट विद्यालयको भौतिक संरचना र विद्यार्थीहरूमा प्रत्यक्ष क्षति नभए पनि बाढीको त्रास र त्यसले निम्त्याएको अवस्थाका कारण विद्यार्थीका व्यक्तिगत तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेको विद्यालयले जनाएको छ।

जिल्लाकै पहिलो उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा परिचित पृथ्वी माध्यमिक विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। ठूलो संख्यामा विद्यार्थीका शैक्षिक सामग्री बगेपछि विद्यालयले सहयोगी व्यक्ति, संघसंस्था तथा सरोकारवालालाई विद्यार्थीको पठनपाठन सहज बनाउन सहयोग गर्न आग्रह गरेको हो।

प्रधानाध्यापक लामिछानेले विद्यार्थीका लागि आवश्यक पोसाक, झोला, किताब, कापी तथा स्टेसनरी सामग्री उपलब्ध गराउन सक्ने व्यक्ति तथा संस्थालाई विद्यालयसँग सम्पर्क गर्न अनुरोध गरेका छन्।

सम्पर्क : ९८५११६१४५६

तस्बिर : एआईकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *