फलाँखु खोलामा ७५ मिटरको बेलिब्रिज बन्ने, रसुवा जोड्ने छोटो मार्ग खुल्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३०, मंगलवार १७:०१



नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा ‘हिमाली सुनामी’का कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि नुवाकोट–रसुवा जोड्ने छोटो वैकल्पिक मार्गमा ७५ मिटर लामो बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ।

रसुवा र सूर्यगढी गाउँपालिकासहित प्रभावित क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, कालिका गाउँपालिका–४ का अध्यक्ष खेसम तामाङ र सूर्यगढी गाउँपालिका–२ का अध्यक्ष दीपक अधिकारीलगायतको टोलीले भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा छलफल गरेको हो।


टोलीले रसुवाको धुन्चे जोड्ने छोटो वैकल्पिक मार्गअन्तर्गत फलाँखु खोलामा तत्काल बेलिब्रिज निर्माण गर्नुपर्ने आवश्यकता मन्त्रीसमक्ष राखेको थियो। त्यसपछि मन्त्री लम्सालले काम तत्काल अघि बढाउन निर्देशन दिँदै सात दिनभित्र फलाँखु खोलामा बेलिब्रिजको फाउन्डेसन तयार गर्ने गरी तोक आदेश दिएको जानकारी दिएका छन्।


बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद हुँदा नागरिकको आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या देखिएको छ। यस्तो अवस्थामा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी–बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ बहाखोलासम्म फलाँखु खोलामा बेलिब्रिज निर्माण गरी वैकल्पिक सडक सञ्चालनमा ल्याउने योजना अघि सारिएको हो।


सम्बन्धित पालिका अध्यक्षहरूको अनुरोधअनुसार बेलिब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको मन्त्री लम्सालले बताएका छन्।


बेलिब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग सञ्चालनमा आउने अपेक्षा गरिएको छ। उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने जनाइएको छ।


मन्त्री लम्सालले तुलनात्मक रूपमा सहज र छिटो सम्पन्न गर्न सकिने यस्तो महत्वपूर्ण पूर्वाधार निर्माणको प्रस्ताव यसअघि नै अघि बढ्न नसकेको विषयमा समेत चासो व्यक्त गरेका छन्। उनले यस विषयमा छलफल गर्न बैठक बस्न नै एक साता ढिला भएको स्मरण गराउँदै अब काममा ढिलाइ नगर्न निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *