
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज शनिबार स्वदेश फर्कदै हुनुहुन्छ । आफ्नो आठ दिने चीन भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कन लाग्नुभएको परराष्ट् मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो। न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो।
प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो। सो क्रममा उहाँले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो। सोक्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उहाँ चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि शनिबार स्वदेश फर्कन लाग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उहाँ शनिबार बिहान १० बजे नेपाल आइपुग्ने जनाइएको छ। प्रधानमन्त्रीको लामो भ्रमणलाई लिएर नेपालमा आलोचना समेत भएको थियो । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चीनका विभिन्न धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको अबलोकन गर्नुभएको थियो ।