काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ सार्वजनिक गरेकाे छ ।
प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज र प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले नयाँ योजना ल्याएको हो।
योजनाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्मको घर कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। कर्जाको अवधि अधिकतम २५ वर्ष कायम गरिएको छ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दर (Average Base Rate) मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। यो सुविधा देशभरका ३०० वटा शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ।
योजनामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै जग्गा खरिद गर्न चाहने प्रवासी नेपालीले कर्जा सुविधा लिन सक्नेछन्।
त्यस्तै, ग्राहकका बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जा समेत उपलब्ध गराइनेछ। शैक्षिक कर्जाको ब्याजदर औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष कायम गरिएको छ भने कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट दिइने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकले पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा समेत प्राप्त गर्नेछन्।
प्रभु बैंकले प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ। बैंकका अनुसार यसबाट प्रवासी नेपालीलाई आवासीय सम्पत्ति निर्माण तथा खरिदमा सहयोग पुग्नुका साथै बैंकसँग दीर्घकालीन वित्तीय सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्