नुवाकोट । नेपाली कांग्रेस ककनी गाउँपालिका–२ को वडा अधिवेशन विवादमा परेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित वडा सभापति कुमार गौतमलाई समेत जानकारी नदिई अधिवेशन सम्पन्न गरिएको भन्दै विवाद उत्पन्न भएको हो।
वडा अधिवेशन नाटकीय र गोप्य ढंगले गरिएको आरोप लगाउँदै सभापति गौतम पक्षले अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएको छ। वडा नम्बर २ मा २ सय ६२ जना क्रियाशील सदस्य रहेको बताइए पनि अधिवेशनबारे पर्याप्त जानकारी नदिइएको आरोप छ।
अधिवेशनको दुई दिनअघि मात्रै ककनी–२ को बिरुवा भन्ने स्थानमा अधिवेशन हुने भन्दै सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गरिएको बताइएको छ। सूचना पाएर तोकिएको स्थानमा पुगेका केही क्रियाशील सदस्यहरू भने अधिवेशनको प्रक्रिया अघि नबढेपछि घर फर्किएको दाबी गरिएको छ।
त्यसपछि वडा सभापतिलाई समेत जानकारी नदिई एक व्यक्तिको घरमा बसेर साँझ करिब ५ बजेतिर अधिवेशन सम्पन्न गरिएको आरोप लगाइएको छ। सामाजिक सञ्जालमा सूचना राखेर अन्य पार्टीबाट उम्मेदवार बनेका व्यक्तिहरूलाई समेत बोलाई प्रतिनिधि बनाइएकाे गाेतामे पक्षमा भनेको छ ।
यस विषयमा नुवाकोटका लागि वडा अधिवेशन गराउन खटिएका जिल्ला प्रतिनिधि रत्नसुन्दर खुजुसँग जानकारी माग्दा उनले वडा सभापतिको रोहवरमा अधिवेशन गराउनुपर्ने बताएको भन्दै यस विषयमा जानकारी लिने बताएका छन्।
वडा अधिवेशनका लागि खटिएका प्रतिनिधिले वडा सभापतिसँग सम्पर्क नगरेको र पूर्वनिर्धारित स्थानमा समेत अधिवेशन नगरेको भन्दै अधिवेशन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाइएको छ। जिल्ला प्रतिनिधिले समेत यस्तो अवस्थामा भएको अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएको दाबी गरिएको छ।
नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीचको विवादको प्रभाव वडा अधिवेशनमा समेत देखिएको स्थानीय कांग्रेस नेताहरूको भनाइ छ। अधिवेशनको प्रक्रिया र प्रतिनिधि चयनलाई लिएर विवाद बढेपछि विषय केन्द्रीय निर्वाचन समितिसम्म पुगेको छ।
वडा सभापति गौतम पक्षले अधिवेशनको प्रक्रिया र वैधानिकतामाथि छानबिन गरी आवश्यक निर्णय गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको जनाएको छ। विवादका कारण ककनी–२ को वडा अधिवेशनको वैधानिकता तथा त्यसबाट चयन भएका प्रतिनिधिको विषयमा अब कांग्रेसको निर्वाचन समितिले गर्ने निर्णय महत्वपूर्ण हुने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्