काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ।
हाल बागमतीसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। तराईका अधिकांश भूभागमा भने मौसम सफा रहे पनि केही स्थानमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
त्यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थान तथा सुदूरपश्चिमको तराई क्षेत्रमा थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
राति कोशी प्रदेशका केही स्थान तथा बागमतीको पहाडी र तराई भूभाग एवं गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्