नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको जन्मथलो दुप्चेश्वर गाउँपालिका–३ बाट केसी परिवारका मात्रै १३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। कांग्रेसको वडा अधिवेशनअन्तर्गत भएको प्रतिनिधि चयनमा एउटै परिवारका सदस्यहरू समेत उल्लेख्य संख्यामा प्रतिनिधि बनेका हुन्।
दुप्चेश्वर–३ बाट केसी परिवारका विभिन्न सदस्य क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका छन्। प्रतिनिधि चयन हुनेमा केदारनरसिंह केसी, कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीकी श्रीमती ज्योती केसी, छोरा आशुतोष केसी, छोरी श्रयषी केसी तथा भतिज उस्वब केसीलगायत रहेका छन्। त्यस्तै सरोज केसी, कपिलनरसिंह केसीलगायत पनि प्रतिनिधि चयन भएका छन्।
यस वडामा विकास केसी पुनः वडा सभापतिमा चयन भएका छन्।
केसी परिवारको राजनीतिक प्रभाव रहेको दुप्चेश्वर–३ मा परिवारका सदस्यहरूको उल्लेख्य प्रतिनिधित्व देखिए पनि कांग्रेसको वडा अधिवेशनमा भने जनसहभागिता उत्साहजनक देखिएन। वडा अधिवेशनमा कुल क्रियाशील सदस्यको करिब २० देखि २५ प्रतिशतको हाराहारीमा मात्रै सहभागिता रहेको बताइएको छ।
कतिपय स्थानमा एउटै परिवारका श्रीमान–श्रीमतीसमेत प्रतिनिधि बनेका छन्। यसले कांग्रेसको वडा अधिवेशनमा संगठनात्मक सक्रियता र जनसहभागिताको अवस्थामाथि समेत प्रश्न उठाएको छ।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विभाजन र आन्तरिक विवादको प्रभाव वडा तहसम्मै परेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्। विगतका अधिवेशनमा देखिने उत्साह र सहभागिताको तुलनामा यसपटक प्रतिनिधि जुटाउनसमेत कठिन भएको स्थानीय तहका कांग्रेस कार्यकर्ताहरूको भनाइ छ।
दुप्चेश्वर–३ भने केसी परिवारको राजनीतिक प्रभावका कारण कांग्रेसको दृष्टिले महत्वपूर्ण वडा मानिन्छ। राजनीतिक गतिविधिसँगै सामाजिक अभियानमा समेत सक्रिय रहँदै आएको केसी परिवारका १३ जना प्रतिनिधि चयन हुनुलाई स्थानीय कांग्रेसभित्र परिवारको प्रभाव र संगठनात्मक पकडको रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्