काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बंगालको खाडीमा विकसित भएको गहिरो न्यून चापीय प्रणालीको प्रभाव नेपालमा समेत देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणाली उत्तर–पश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर हुने भए पनि त्यसको असरका कारण आगामी केही दिन देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको छ।
हाल कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
तराईका जिल्लाहरूमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र हावा चल्न सक्ने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्