काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
राठोरले नुवाकोट पुकारसँग टेलिफाेनमा कुरा गर्दै आफू सभापति पदमा उम्मेदवारी दिने स्पष्ट पारेका हुन्।
‘म सभापतिमा उम्मेदवारी दिन्छु,’ राठोरले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि काठमाडौं आएर थप छलफल गर्छु।’
कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने आफ्नो इच्छा रहेको बताउँदै राठोरले नेता तथा कार्यकर्ताको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा जाने वा अन्य ढंगले उम्मेदवारी दिने भन्ने विषयमा भने अहिले नै निर्णय गरिनसकेको उनले बताए। कांग्रेसले गुट, उपगुट तथा प्यानल बनाएर उम्मेदवारी नदिन नेता–कार्यकर्तालाई आग्रह गरिरहेको छ।
राठोर २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् भने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ। महाधिवेशन नजिकिँदै जाँदा सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।
विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ। सभापतिले कोषाध्यक्षसहित ६१ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्