बाढी–पहिरोमा अनवरत खटिएका सिंहराज नेतृत्वको समूह कांग्रेस राजनीति परीक्षा दिँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १५, बिहीबार ११:०३

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय नेतृत्वका लागि युवा नेता सिंहराज तामाङ उम्मेदवार बनेका छन्। पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका सिंहराजले यसपटक क्षेत्रीय अध्यक्षका रूपमा आफ्नो राजनीतिक परीक्षा दिन लागेका हुन्।


नेपाल तरुण दलको नेतृत्वमा रहेर संगठन निर्माणमा सक्रिय सिंहराज १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए। जिल्लाको माथिल्लो भेगमा कांग्रेस संगठन विस्तार तथा युवालाई पार्टीसँग जोड्ने गतिविधिमा सक्रिय उनी क्षेत्र नं. २ मा प्रभावशाली युवा नेताका रूपमा परिचित छन्।


नेपाली कांग्रेस नेता बहादुरसिंह लामा निकट मानिने सिंहराजले १५औँ महाधिवेशनमा क्षेत्रीय अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। पार्टीप्रतिको निरन्तर सक्रियता, संगठनप्रतिको लगनशीलता र युवामाझको सम्बन्धलाई उनले आफ्नो राजनीतिक यात्राको आधार बनाएका छन्।


गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोका क्रममा पनि सिंहराज उद्धार तथा राहत कार्यमा सक्रिय देखिएका थिए। त्रिशूली–३ ए क्षेत्रको उद्धारमा समेत खटिएका उनी विपद्का बेला व्यक्तिगत रूपमा ठूलो क्षति व्यहोर्नुपर्दा पनि सामाजिक तथा राजनीतिक गतिविधिबाट विचलित नभई निरन्तर सक्रिय रहे।

क्षेत्र नं. २ मा सिंहराजसँगै प्रदेश ‘क’ बाट जितेन लामा र प्रदेश ‘ख’ बाट नमराज पाण्डे पनि युवामाझ सक्रिय उम्मेदवारका रूपमा चर्चामा छन्। दुवै युवा नेताले संगठन र सामाजिक गतिविधिमा देखाएको सक्रियताका कारण क्षेत्रीय प्रतिनिधिहरूमाझ आफ्नो प्रभाव बनाउँदै आएका छन्।


करिब १ हजार ७ सय क्षेत्रीय प्रतिनिधिबाट चुनिने क्षेत्रीय तथा प्रदेश नेतृत्वले आगामी दिनमा नुवाकोट कांग्रेसको संगठनात्मक दिशालाई समेत प्रभाव पार्नेछ। त्यसैले यसपटकको आन्तरिक निर्वाचनमा पुरानो नेतृत्वको निरन्तरता मात्र होइन, युवाको सहभागिता र संगठन निर्माणमा उनीहरूको भूमिकालाई समेत प्रतिनिधिहरूले महत्वका साथ हेरिरहेका छन्।

अर्को तर्फ पारिवारिक राजनीतिकाे विरासत वर्षाैदेखि जरा गाडेकाे केसी समूहबाट क्षेत्रिय अध्यक्षमा आशा तामाङले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय राजनीतिमा युवा नेतृत्वको बहस चलिरहेका बेला नुवाकोट कांग्रेसमा पनि सिंहराज, जितेन लामा र नमराज पाण्डेजस्ता युवा नेताहरूको उम्मेदवारीले नयाँ पुस्ताको उपस्थिति बलियो बनाउने संकेत गरेको छ। अब क्षेत्रीय प्रतिनिधिहरूले कसलाई नेतृत्वको जिम्मेवारी दिन्छन् भन्ने विषयले नुवाकोट कांग्रेसको आगामी राजनीतिक यात्रामा महत्त्वपूर्ण अर्थ राख्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *