काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आजबाट वडा अधिवेशन सुरु गर्दै छ ।
१५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु हुन लागेको सन्दर्भमा महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरणका रूपमा लिएर सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका छन्।
असोज १४ गते जारी प्रेस विज्ञप्तिमार्फत कोइरालाले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च उत्साह, जिम्मेवारी र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।
उनले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टी संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने तथा नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्।
व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशन सफल बनाउन सबैलाई एकताबद्ध हुन उनले आग्रह गरेका छन्।
कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
उनले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्नसमेत अपिल गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र अलग–अलग प्रक्रियाहरू अघि बढिरहेका बेला वडा तहको अधिवेशनसमेत संगठन निर्माण र प्रतिनिधि छनोटको महत्वपूर्ण आधार बनेको छ। पछिल्ला दिनमा विभिन्न स्थानमा प्रतिनिधि चयन तथा अधिवेशन प्रक्रियालाई लिएर विवादसमेत देखिएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्